पाकिस्तानमा इजरायली ड्रोनमार्फत भारतले आक्रमण गरेकाे आरोप


इस्लामाबाद — पाकिस्तानी सेनाले भारतमाथि इजरायली निर्मित ड्रोन प्रयोग गरी पाकिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बिहीबार एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

उनका अनुसार लाहोरमा भएको आक्रमणमा चार सैनिक घाइते भएका छन् भने मियान क्षेत्रमा एक जनाको ज्यान गएको छ। चौधरीले लाहोर, गुजरानवाला, चकवाल, रावलपिंडी, मियान, चोर र कराँचीमा ड्रोन आक्रमण भएको दाबी गरे। पाकिस्तानी सेनाले १२ वटा ड्रोन खसाल्न सफल भएको पनि उनले बताए।

चौधरीले पछिल्लो दुई दिनमा तेस्रोपटक पत्रकार सम्मेलन गर्दै भारतको आक्रामक गतिविधिबारे जानकारी दिएका हुन्।

यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतका सैन्य अड्डालाई मात्रै लक्ष्य बनाइने र युद्ध अन्तर्राष्ट्रिय कानुनको सीमाभित्र सीमित रहने बताएका छन्।

प्रधानमन्त्री शाहबाज शरीफले संसदमा सम्बोधन गरेपछि राष्ट्रलाई टेलिभिजनमार्फत सम्बोधन गर्दै पाकिस्तानले आफ्नो रक्षाका लागि अन्तिम साससम्म लड्ने चेतावनी दिएका छन्। उनले भने, “भारतले हरेक रगतको थोपा बराबर मूल्य चुकाउनु पर्नेछ। पाकिस्तानले कसरी जवाफ दिन्छ भन्ने इतिहासले प्रमाणित गरिसकेको छ।”

प्रतिक्रिया