

जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा

काठमाडौं – राजसंस्था पुनर्स्थापनका लागि गठित समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको छ ।
राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन गर्ने घोषणा गरेको हो ।
समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका जानकारी गराएका हुन् ।
उनले भने, ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’
आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले बताए ।
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।

