भारतकाे ‘अपरेसन सिन्दूर’ जारी


नयाँ दिल्ली — भारतका संसदीय मामिला मन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्धको ‘अपरेसन सिन्दूर’ निरन्तर चलिरहेको बताएका छन्। बिहीबार बिहान दिल्लीमा रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उक्त अपरेसन नियमित र दीर्घकालीन रणनीतिअन्तर्गत सञ्चालन भइरहेको जनाए।

“अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो,” मन्त्री रिजिजुले भने। उनका अनुसार बैठकमा रक्षामन्त्रीले सबै दलका नेताहरूलाई अपरेसनको उद्देश्य, परिस्थिति र सरकारको योजना स्पष्ट रूपमा जानकारी गराएका थिए। सहभागी सबै नेताहरूले भारतीय सेनाको कदमप्रति समर्थन जनाएका थिए।

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाएको थियो। त्यसको प्रत्युत्तरस्वरूप मंगलबार राति भारतले ‘अपरेसन सिन्दूर’ नाम दिँदै पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको थियो। पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार उक्त हमलामा २६ जना नागरिक मारिए र ४६ जना घाइते भए।

बुधबार बिहान पाकिस्तानले जवाफमा कश्मीर क्षेत्रमा गोला प्रहार गर्दा १५ जनाको मृत्यु र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

यो घटनाक्रमसँगै भारत–पाकिस्तानबीच तनाव उच्च विन्दुमा पुगेको छ र पूर्ण युद्धको खतरा बढेको सुरक्षा विश्लेषकहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया