

ललितपुर महानगरको निर्देशन – भोलिदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्नू

ललितपुर– ललितपुर महानगरपालिकाले भोलि (मंगलबार) वैशाख १६ गतेदेखि महानगरभित्रका सबै सामुदायिक विद्यालय नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ।
महानगरका प्रवक्ता राजु महर्जनले सोमबार एक सूचना जारी गर्दै मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक गतिविधिहरू पूर्ण रूपमा अगाडि बढाउन आग्रह गरेका छन्।
महर्जनद्वारा जारी परिपत्रमा सर्वोच्च अदालतबाट विद्यालय सञ्चालन सम्बन्धमा भएको आदेशको पनि उल्लेख गरिएको छ। परिपत्रमा भनिएको छ, ‘‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी आदेश भएकोले, यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालय वैशाख १६ गतेदेखि पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ।’’
सर्वोच्च अदालतको आदेशअनुसार कुनै पनि विद्यार्थी शिक्षा अधिकारबाट बञ्चित हुनु नहुने भन्दै महानगरले तत्काल विद्यालय खोल्न आवश्यक भएको स्पष्ट पारेको छ।

