

सप्तरीमा आमाले छोरालाई विष खुवाएपछि….

सप्तरी- सप्तरीको राजविराज नगरपालिका–१ चनौरामा एक आमाले घरायसी विवादका कारण आफ्ना चार वर्षीय छोरालाई विष खुवाइन् र त्यसपछि आफैंले पनि विष सेवन गरेकी छन्। विष सेवनका कारण गम्भीर अवस्थामा रहेका बालकको उपचारका क्रममा मृत्यु भएको छ भने आमाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
२५ वर्षीया काजलदेवी साफीले आइतबार साँझ चार वर्षीय छोरालाई विष खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिकिस्त भएका बालकलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइयो, तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो।
नोबेल अस्पतालमा उपचारका क्रममा सोमबार बिहान बालकको मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। विष सेवन गरेकी आमा काजलदेवी साफीको पनि नोबेल अस्पतालमै उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

