अवैध वित्तिय कारोबार गर्ने रेमिट्यान्सदेखि ट्राभल्स सञ्चालक गरी यी २१ जना सिआईबीको फन्दामा


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले अवैध वित्तिय कारोबार गर्ने रेमिट्यान्स कम्पनीदेखि ट्राभल्सका सञ्चालक गरी २१ जनालाई पक्राउ गरेको छ ।

सिआईबीले भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छलीलगायतका आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा ११ जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रप्रसाद साह, दिपेन्द्र प्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह, अरुण कुमार साह रहेका छन् ।

त्यस्तै प्रदीपकुमार साह, सञ्जीवकुमार महतो, राजकमल लोनिया, भीमकुमारी गुरुङ, रामविलास साह तेली, ममताकुमारी साह, विकर्ण जंग राणा पनि पक्राउ परेका छन् ।

त्यस्तै गणपति पाण्डे, सलमा खातुन, सुशीलाकुमारी साहु, गोविन्द प्रसाद आचार्य र शम्भु मेहता पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण वाफत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक बिप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगाएतमा संलग्न रहेको खुलेको सीआईबीले जनाएको छ ।

उक्त समूहले अवैध कारोबार बापत प्राप्त गरेको गैरकानूनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल) कम्पनिहरुको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको लागि ठूलो रकमको कारोबार गर्नेहरुलाई परिचालन गरेको समेत खुलेको छ ।

यो समूहले अवैध रकमको चलखेल गर्ने ठूला व्यक्तिहरुलाई परिचालन गरी एकै पटक ठूलो परिमाणको नगद रकम खातामा जम्मा गर्ने गरेको पाइएको छ ।

त्यसरी खातामा जम्मा भएको रकमलाई बिभिन्न मनी ट्रान्सफरहरुले डिजिटलल वालेट कम्पनिहरु मार्फत इमनी बनाई रेमिट्यान्समार्फत विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा भुक्तानी गर्दै आएको सीआईबीको दावी छ ।

सीआईबीको अनुसन्धानका क्रममा केही मनी ट्रान्सफर र त्यसको संचालक समेतका व्यक्तिहरुले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशन विपरितको कार्य गरेको खुलेको छ ।

सीआईबीका अनुसार पक्राउ परेका व्यक्तिहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार एक सय सात रुपैयाँ अबैध कारोबार भएको छ ।

उनीहरुमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको पनि सीआईबीले जनाएको छ ।

प्रतिक्रिया