

दुई ट्रक ठोक्किँदा आगो लाग्यो, चालकहरू घाइते

जनकपुर — धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा ट्रकमै आगो लागेको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर– ६ मालटोलचोकमा दुई वटा ट्रक आपसमा ठोक्किएर आगलागी भएको धनुषा प्रहरीले जनाएको छ ।
आइतबार बिहान सिरहाबाट ढल्केवरतर्फ जाँदै गरेको ना ६ ख ३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेशको २–००१ ख ०७१५ नम्बरको ट्रक ठोक्किँदा दुई वटै ट्रकमा आगो लागेको धनुषा प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जनाए ।
उनका अनुसार ट्रकको ट्याङ्कीमा ठोक्किएपछि तेल छताछुल्ल भएको थियो, त्यसपछि आफै ट्रकमा आगो सल्किएको हो ।
आगोले ना ६ ख ३४६३ नम्बरको ट्रक पूरै जलेर नष्ट भएको र दुवै ट्रकका चालक घाइते भएको प्रहरीले बताएको छ ।
घाइते दुवै चालकको जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरी कार्यालयले जनायो ।

