प्रचण्डको उपस्थितिमा माओवादीबाट कीर्तिपुरको उपनिर्वाचनका उम्मेदवार घोषणा
काठमाडौ – नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको मेयर तथा दुई वडाको वडा अध्यक्षको घोषणा गरेको छ ।
बुधबार बिहान एक कार्यक्रम गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवार घोषणा गरेका हुन् ।
माओवादी केन्द्रले मेयर पदमा प्रा. डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । त्यस्तै किर्तिपुरको वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै किर्तिपुरको मेयर पदमा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेका छन् । त्यस्तै राप्रपाले मेयर पदका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ भने किर्तिपुरको मेयर पदका लागि सरसफाई अभियानकर्ता राजमान मानन्धरले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले भने मेयर पदका लागि नगर समितिका सभापति कृष्णमान डङ्गोलको नाम पहिलो नम्बरमा राखेर ११ जनाको नाम सिफारिस गरेको छ । जसमा बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, सङ्गीता बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन रहेका छन् ।
कीर्तिपुर नगरपालिकाका निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उनी कांग्रेसबाट विजयी भएका थिए ।