गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


कपिलवस्तु-  पूर्व–पश्चिम राजमार्गस्थित बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा जिपले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र–०१–०२९च.९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु.१ह. ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको ईप्रका गोरुसिंगे जनाएको छ ।

गाउँबाट अटो रिजर्भ गरेर सामाजिक सुरक्षा भत्ता लिन गोरुसिंगेस्थित लक्ष्मी सनराइज बैंक गइरहेका बेला बैंक नजिक ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालक ५७ वर्षे लोकबहादुर कुँवर, विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । चारै जनाको  बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया