हाम्रो पार्टी एमाले वा माओवादी कसैसँग विलीन हुँदैन : माधव नेपाल
कपिलवस्तु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नफुट्ने दावी गरेका छन् ।
सोमबार कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपालले एकीकृत समाजवादी फुट्दा पनि नफुट्ने र कुनै पार्टीमा विलय पनि नहुने बताए । ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसँग विलीन हुँदैन’, उनले भने ।
भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो हल्लाको पछाडि नलाग्न आग्रह समेत गरे । उनले भने, ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसँग विलीन हुँदैन, त्यस्तो चर्चा गलत हो । कागले कान लग्यो भनेर नदौडिनुस्, कान छाम्नुस् ।’ नेपालले एकीकृत समाजवादी पार्टी फुटे पनि आकाश नखस्ने बताएका छन् । पार्टी फुटे पनि बाँकी बसेकाले पाटीलाई अघि बढाउनु पर्ने उनको भनाइ छ ।
‘पार्टी फुटको कुरा हल्ला हो तर फुटेछ भने आकाशै खस्दैन, हिम्मतका साथ सामना गर्नुको विकल्प छैन’, उनले भने । नेपालले अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास भएको भन्दै सरकारलाई त्यस्तो काम नगर्न आग्रह गरे । उनले अरूलाई सिध्याउने खेल नखेल्न सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष नेपालले पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिए ।
उनले सरकारले अरू पार्टीलाई फुटाउने दुस्साहस गरे परिणाम नराम्रो हुने बताए । उनले एमालेको भन्दा आफ्नो पार्टीको संगठित सदस्य धेरै रहेको दाबी समेत गरेका छन् । एमालेको नवौं महाधिवेशनसम्म एक लाख पाँच हजार रहेको संगठित सदस्यको तुलनामा आफ्नो पार्टीले तीन वर्षमा डेढ लाख सदस्य पुर्याएको दाबी गरे ।