केएमसी अस्पतालमा इन्टर्न डाक्टरहरू आन्दोलित
काठमाडौँ – एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का इन्टर्न डाक्टरहरू आन्दोलित भएका छन् ।
चिकित्सा शिक्षा आयोगले अतिरिक्त शुल्कमा ट्युसन र होस्टल फिबाहेकको शूल्क लिन नपाउने भनेर २०७६ मंसिर ११ गते नै भनेको भए पनि त्यसलाई कार्यान्वयन नगरेकाले आफूहरूले विरोध गर्नु परेको उनीहरूले बताएका छन् ।
सन् २०१८ को अक्टुबरमा भर्ना भएको ब्याचले २० भदौ २०८१ र ६ असोज २०८१ मा निवेदन दिँदा पनि अस्पतालले कुनै सुनुवाइ गरेन । त्यसैले सरकारी नियम अनुसार यथाशीघ्र शुल्क समायोजन गर्न माग राखेर अस्पताल परिसरमा प्रदर्शन गरेको उनीहरूले बताए ।
अस्पताल प्रशासनले यथाशीघ्र इन्टर्न डाक्टरहरूसँग लिखित सहमति नगरे कानूनी प्रक्रियामा समेत थाले र थप आन्दोलनका कार्यक्रमहरू पनि घोषणा गर्ने तयारी गरेको बताइएको छ ।