बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल


काठमाडौं- गृह मन्त्रालयले गठन गरेको कार्यदलका संयोजकहरू फिल्डमा खटिएका छन् ।

बाढी पहिरो प्रभावित ८ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरिएको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका हुन् ।

आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा सह-सचिव खटाइएको गृहसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अतिभारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्नेछ ।

यस्तै, अतिभारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् ।

कार्यदललाई यही असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ ।

साथै कार्यदलले दैनिक रूपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ ।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दश जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ ।

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए ।

‘हामीले दश जना अधिकृतलाई बाढी/पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौं,’ अधिकारीले भने, ‘उहाँहरूले प्रभावित पालिकासँग समन्वय र समर्पक गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नेछ ।’

प्रतिक्रिया