चौरसिया हत्या : मुख्य योजनाकार गुप्ता कहाँ बस्छन् ?


काठमाडौं– पर्साको विन्दबासिनी गाउँपालिकामा ६ कात्तिको झडपपछि घाइते भई मृत्यु भएका मुकेश चौरसियाको हत्या भएको आरोप लगाइएका राजकुमार गुप्ता काठमाडौंमा बस्दै आएको खुलेको छ ।

पूर्वसांसद समेत रहेका गुप्ता काठमाडौंको सनराइज सिटी होममा तीन बर्षदेखि फ्ल्याट भाडामा लिएर बस्दै आएका छन् । ‘एफ ७’ फ्ल्याटमा बस्ने उनलाई पर्सालगायतका विभिन्न जिल्लाबाट मानिसहरू भेट्न आउने गरेका छन् । चौरसिया प्रकरणपछि भने उनी निरन्तर फ्ल्याटमा नै रहँदै आएका हुन् ।

प्रहरीले गुप्ताको नाममा जाहेरी लिन नमानेको भन्दै पर्साको विन्दबासिनी गाउँपालिकालगायतका नेकपा कार्यकर्ता र नेता आन्दोलनमा छन् । गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका कारण प्रहरीले जाहेरी लिन नमानेको भन्ने आरोप समेत लागेको हो ।

नेकपा गाउँ कमिटीका अध्यक्ष र सचिव पदको शपथग्रहण कार्यक्रम चलिरहँदा ६ कात्तिकमा भएको झडपका क्रममा चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा ७ कात्तिकमा मृत्यु भएको थियो ।

चौरसियको मृत्यु हुनासाथ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड खेमाका कार्यकर्ताले गुप्ता नै मुख्य योजनाकार रहेको आरोप लगाउँदै प्रदर्शन जारी राखेका छन् भने मृतकको लास उठाइएको छैन ।

आक्रमणमा करिब ८ जना घाइते भएका जनाइएको छ । चौरसिया नेकपाभित्र पूर्वमाओवादी खेमाका हुन् । आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको भनिएको छ । तर, पीडित पक्षले भने तत्कालीन नेकपा एमालेबाट प्रथम संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका गुप्तालाई पक्रउा गर्नुपर्ने अडान कायम राखेको ।

यहि प्रकरणले पर्सामा नेकपाको दुई खेमा छुट्टिएको छ । नेकपाका ३७ जना नेताहरुले विज्ञप्ति जारी गरी जाहेरी दर्ता गर्नुपर्ने उल्लेख गरेका थिए । जसमा पूर्वमन्त्री मात्रीका यादवसहित छन् ।

शपथग्रहण हुनुअघि नै केही आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुको योजनामा अपराधीहरू बाँसको भाटालगायतका हतियार बोकी कार्यक्रम स्थल पुगेको नेताहरूको आरोप थियो ।

प्रतिक्रिया