लुम्बिनी विकास कोषका पदाधिकारीमाथि गरिएको हातपातप्रति ९ दलको निन्दा


रुपन्देही – लुम्बिनी विकास कोषका पदाधिकारीमाथि गरिएको हातपातप्रति ९ दलको निन्दा गरेका छन् । कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरूबाट भएको हातपात र अभद्र व्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरूले निन्दा व्यक्त गरेका हुन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा क्रियाशील दलहरूले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभाका सदस्यहरू सहभागी कार्यक्रम स्थलमै पुगेर हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गालीगलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट गरेको घटनाको निन्दा गर्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । दलहरूले जिल्ला प्रशासनलाई सत्य तथ्य पत्ता लगाई समस्या समाधान गर्न माग समेत गरेका छन् ।

‘विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित प्रसारित समाचार र भिडियो अनुसार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सदस्य सचिव सानुराजा शाक्यमाथि हातपात र लछारपछार गरिएको छ । यस सम्बन्धमा जिल्ला प्रशासनलाई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगर सभापति विन्दुराम यादव, नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर समितिका उपाध्यक्ष मञ्जु ढकाल, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र यादव,नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष सफिउरहमान अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव रामाकान्त वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कोषाध्यक्ष हिन्दराज यादव, जसपा नगर उपाध्यक्ष हुसेनी लोध, जनमत पार्टी नगर सचिव बोजिउद्धिन मुसलमान र लोसपा नगर अध्यक्ष राफिक अहमद मुसलमानले हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया