ललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने


ललितपुर – ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ ।

कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन जोनसहितको प्रतिनिधिमण्डलको स्वागतमा ललितपुर महानगरपालिकाको बैठक कक्षमा आज आयोजित कार्यक्रममा नगरप्रमुख चिरीबाबु महर्जनले वातावरण र कृषि क्षेत्रमा भएका सकारात्मक अभ्यास आदानप्रदान गर्न चाहना व्यक्त गरे।

नगरप्रमुख महर्जनले चेरवन सहर र ललितपुर महानगरबीचको भगिनी सम्बन्धले नेपाल र कोरियाबीचको दौत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। एक महिनाअघि महानगर प्रमुख महर्जन चेरवन सहरको निमन्त्रणमा भगिनी सम्बन्ध कायम गर्नका लागि त्यहाँ गएका थिए ।

चेरवनका मेयरसहितको प्रतिनिधिमण्डललाई स्वागत गदै ललितपुर महानगरप्रमुख महर्जनले कृषि र वातावरणको क्षेत्रमा चेरवनबाट ललितपुरले असल अभ्यासहरू सिक्न सक्ने बताए। “कृषि र वातावरणको क्षेत्रमा हामी चेरवनको असल अभ्यासहरू सिक्छौँ । हस्तकला र सम्पदा क्षेत्रमा हाम्रा असल अभ्यासहरू चेरवन सहरलाई हस्तान्तरण गर्न चाहन्छौँ, यो हामी दुवै पक्षका लागि प्रभावकारी हुनसक्छ”, उनले भने।

चेरवन सहरका प्रमुख ली ह्युन जोनले ललितपुर महानगरसँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताए । उनले कृषि, पर्यावरण प्राथमिकतामा रहेको भन्दै नेपालीहरूको सद्भावको शैलीबाट आफू प्रभावित भएको बताए। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले चेरवन सहरसँग भगिनी सम्बन्ध कायम भएकामा खुसी व्यक्त गर्दै दुई सहरबीचको भिन्नता र एकतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए। उनले अघिल्लो वर्ष कोरिया भ्रमण गर्दा कृषि र पर्यावरणको क्षेत्रमा भएका सकारात्मक कामबाट आफू प्रभावित भएको बताए। “यी दुई क्षेत्रमा महानगरले धेरै सिक्नु छ, हालै कायम भएको भगिनी सम्बन्धले त्यसलाई मार्ग प्रशस्त गरेको छ”, उनले भने।

चेरवन सहरका उपाध्यक्ष जाङ योङले ललितपुरको आवश्यकता र मागबारे जानकार हुन भ्रमण तय गरेको प्रस्ट पारे। ललितपुर महानगरका प्रवक्ता तथा वडा नंं ९ का वडाध्यक्ष राजु महर्जनले दुई सहरबीचका असल अभ्यास आदानप्रदान गर्नुपर्ने धारणा राख्दै रोजगारी सिर्जना गर्न ‘स्टार्टअप’लाई सहयोग गर्नुपर्ने बताए। उनले दुई सहरबीच भगिनी सम्बन्ध कायम भइसकेको अवस्थामा नागरिकले अनुभूत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए।

चेरवन सहरका कृषि प्रविधि विभागका निर्देशक ली हुङजोङले कृषि क्षेत्रमा के र कसरी सहयोग गर्न सकिन्छ त्यस बारेमा अध्ययन गरी छलफल गर्ने बताए। कार्यक्रममा वडा नं २० का वडाध्यक्ष चन्द्रलाल महर्जन, वडा नंं १२ का वडाध्यक्ष नारायणलाल अवाले, वडा नं २७ का वडाध्यक्ष कृष्णहरि महर्जन, वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनले ललितपुर महानगरभित्र कृषि क्षेत्रमा उल्लेख्य सम्भावना रहेको बताउँदै कोरियाको प्रविधि भित्र्याएर उत्पादन बढाउनुपर्ने धारणा राखे।

महानगरका कृषि सल्लाहकार धर्म महर्जनले ललितपुर महानगर मात्रै नभएर प्रविधिका कारण नेपाल पछि परेको तर्क गर्दै कोरियाको प्रविधि ललितपुर भित्र्याएर उत्पादन बढाउनुपर्नेमा जोड दिए। उनले भने “कोरियाको प्रविधि प्रयोग गरेर फलफूल र तरकारी उत्पादन गर्ने एउटा नमूना कृषि फर्म बनाउनुपर्छ ।”

ललितपुर महानगरमा कृषिको अध्ययन अनुसन्धान र सम्भावना खोजी गर्नका लागि कोरियाको चेरवन सहरका प्रमुख जोनसहितको प्रतिनिधिमण्डल ललितपुर आएको हो । ललितपुर महानगर र छिमेकी पालिकामा सञ्चालित कृषि फर्महरूको अवलोकन गर्ने, त्यहाँका उत्पादनहरूका बारेमा छलफल गर्नेछ । एक साता लामो भ्रमणका लागि यहाँ आएका जोनसहितको टोलीले कृषि मन्त्री तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया