आज पनि सर्वोच्चले टुंग्याएन अग्नि सापकोटाविरुद्धको मुद्दा


काठमाडौं – सर्वोच्च अदालतमा १२ वर्षदेखि विचाराधीन पूर्वसभामुख तथा माओवादी नेता अग्नि सापकोटा विरुद्धको मुद्दा फैसला नगरी फेरि अनिश्चिततातर्फ गएको छ ।

निर्णय सुनाउने मिति पटक पटक सारेको सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार फैसला नगरी ‘अन्य आदेश’ गरेको हो ।

‘मुद्दामा अन्य आदेश भनेर सूचित गरिएको छ, के आदेश भएको हो, भोलिसम्म त्यसको पाठ तयार भएपछि मात्रै थाहा होला’, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले भने, ‘आदेशको विवरण थाहा नहुदासम्म यसबारेमा थप बताउन सकिएन ।’

१२ वैशाख, २०८१ मा पछिल्लो पटक सुनुवाइ गरी डेढ महिनापछि निर्णय सुनाउने मिति तोकेको संवैधानिक इजलासले पटकपटक मिति सारेको थियो ।

निर्णय सुनाउने मिति दुई पटक सारेर १२ भदौमा अन्तिमपटक मिति तोकिएको थियो । त्यसपछि ९ असोजका लागि मिति तोकिएको हो ।

प्रतिक्रिया