गोरखा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो : छवि


काठमाडाैं- २०७७ सालमा  ठूलो तामझामसहित विभिन्न  हायात होटलमा ग्यालेक्सी टेलिभिजनकाे शुभारम्भ गरिएको थियो । ग्यालेक्सीमाविभिन्न मिडिया हाउसबाट आकर्षक तलब दिई लगिएका अनुभवी पत्रकार र व्यवस्थापक थिए । त्यतिबेला एक नेटवर्क व्यापारी गितेन्द्रबाबु (जीबी) राईले यत्रो तामझाम गर्ने पैसा कहाँबाट जम्मा गरे भन्ने खासखुस चलेको थियो ।

त्यसैकाे जवाफमा ग्यालेक्सीका प्रबन्ध निर्देशकसमेत रहेका रवि लामिछानेले टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ क्याउँक्याउँ नगर्नुहोला  भनेका थिए । ‘यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो ’ उनले भनेका थिए ।

तर, अहिले उनकै साझेदार रहेका प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले भित्रका कुराहरु बयानमा धमाधम खोलिरहेका छन् । काठमाडौंमा पक्राउ गरी कास्की पुर्‍याइएका उनले  जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा रहेकाे प्रहरीलाई गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै भएकाे बयान दिएका छन् ।

‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो । म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,’ हिजाे जोशीले दिएकाे बयान  उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन् । गोरखा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो । भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन् । रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए ।’

प्रहरीले जानकारी दिएअनुसार जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । उनका साझेदार जीबी राइविरुद्ध भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियाे । तर, उनी फरार छन् ।

 

 

प्रतिक्रिया