ममता बेपत्ता प्रकरण : नरेशलाई धरौटीमा रिहा गर्न अस्वीकार, धेरै ठाउँमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण


काठमाडाैं- अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेर हिराशतमा रहेका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो ।

शुक्रबारको  सुनुवाइमा अभियोजकहरूले नरेश भट्टले भर्जिनियाको वरपरका विभिन्न स्थानमा फोहोरका कन्टेनरमा फोहोरका झोलाहरू डिस्पोज गरेको भिडियो रहेको दाबी गरेका छन् ।  फल्स चर्चमा रहेको फोहोर फ्याक्ने ठाउँमा फोहोरका झोलाहरू डिस्पोज गरेको देखिएको अभियोजकले बताएका छन् ।

श्रीमती बेपत्ता भएपछि भट्टले रबराइज्ड पन्जा, चक्कु, अतिरिक्त ठूला भण्डारण झोला र सरसफाईका सामानहरू किनेको भिडियो पनि उनीहरूसँग रहेको अभियोजकहरुले बताएकाे खासोखासले जनाएकाे छ  ।

यस्तै भट्टको मास्टर बेडरूम र बाथरुममा शव सुघ्ने कुकुरहरू पुगेको र त्यसले घरमा शव रहेको संकेत गरेको अभियोजकहरूले बताएका छन् ।

ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले खोजी कार्य र अनुसन्धान जारी राखेको छ । प्रहरीले संघीय पार्टनरहरु एफबीआई र सेक्रेट सर्भिसका साथमा लाउडन काउन्टी र फेयरफ्याक्स काउन्टी प्रहरीसँग पनि सहकार्य गरिरहेको बताएका छन् ।

ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको समेत अभियोजकको भनाई छ ।

अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया