आगलागी हुँदा गोठमा राखेको ४ लाख रुपैयाँ जल्यो


रोल्पा- रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रुपैयाँ जलेर क्षति भएको छ ।

थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

उनका अनुसार ढुङ्गा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो।नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ ।

आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए ।

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको शाहीले बताए। आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए ।

प्रतिक्रिया