परराष्ट्र मन्त्री आरजु राणा क्यानडा प्रस्थान


काठमाडौँ – परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सोमबार साँझ क्यानडा प्रस्थान गरेकी छिन् ।

क्यानडाको टोरन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना गरिएको महिला परराष्ट्र मन्त्रीहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । क्यानडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्र मन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।

सो सम्मेलनमा परराष्ट्र मन्त्री डा. राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया