वीर अस्पतालमा पनि जलनको उपचार सुरू


काठमाडौं-  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा आजबाट जलनको उपचार सेवा सुरू भएको छ। अस्पतालमा बर्न वार्डमा २०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएपछि त्यसयता उक्त सेवा वीर अस्पतालमा बन्द भएको थियो।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार आजबाट उक्त बन्द रहेको ‘जलन उपचार केन्द्र’ बाट जलनका विरामीको उपचार सेवा सुरू गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज उक्त बन्द रहेको वार्ड सहित अस्पतालमा जलनको सम्बन्धी उपचार सेवाको शुभारम्भ गरेका हुन् ।

उपचार सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री पौडेलले भविष्यमा छिट्टै जलनका विरामीलाई एक लाख रुपैयाँ सरकारी सहुलियत दिने तयारी भएको समेत बताएका छन्। ‘अन्य केही कडा रोगलाई उपचार सहुलियत दिए जस्तै जलनका विरामीलाई पनि एक लाख रुपैयाँ उपचार रकम सहयोग दिने तयारी गरिरहेका छौँ’‚ स्वास्थ्यमन्त्री पौडेलले भने ।

अस्पतालमा जलनका विरामीलाई मात्रै उपचार गर्न भनेर १० जनरल बेड, ५ आइसियू र तीनवटा अप्रेशन थिएटर रहेका छन् ।

हाल नेपालमा त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर अस्पतालका साथै अन्य केही अस्पतालमा मात्रै जलनका विरामीको प्रभावकारी उपचार सेवा हुँदै आएको छ । अहिले सबैभन्दा धेरै जलनको उपचार सेवा  कीर्तिपुर अस्पतालमा हुने गरेको छ ।

 

प्रतिक्रिया