मुलुककै उत्कृष्ट जनप्रतिनिधि भूपेन्द्रा आमासहित अस्ताइन्


काठमाडौं – नेकपा माओवादी केन्द्र पूर्वी रुकुमले होनाहार पार्टीकी कार्यकर्ता गुमाएको छ ।

शुक्रबार बिहान बाग्लुङको गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीको भूंखानीमा भएको जीप दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष एवं नेकपा माओवादी केन्द्रकी युवा नेतृ भूपेन्द्रा बुढामगरको निधन भएको हो ।

२०७९ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादीका तर्फबाट विशाल मतान्तरसहित उपाध्यक्षमा निर्वाचित भएकी भूपेन्द्र पूर्वी रुकुमकै नक्षत्रको रुपमा स्थापित थिइन् ।

उनले नेपाली कांग्रेसकी उम्मेदवार कमलाकुमारी मल्ललाई २ हजार भन्दा बढी मतान्तरले पराजित गरेकी थिइन् । भूपेन्द्राले ४०५९ मत ल्याउँदा कमलाले २०१० मत प्राप्त गरेकी थिइन् ।

नेपाल भरका १४० महिला जनप्रतिनिधिमध्ये उत्कृष्ट २७ मा परेकी भूपेन्द्रा काठमाडौंबाट गृहपालिका फर्कने क्रममा दुर्घटनामा परेकी हुन् । दुर्घटनामा उनकी ६१ वर्षीया आमा गोपी बुढा मगरको पनि मृत्यु भएको छ ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १२ मा ३२ वर्ष अघि जन्मिएकी भूपेन्द्रा राजनीतिक पृष्ठभूमि भएको परिवारकी हुन् । कठिन भूगोल, कर्मचारीको अभाव, सूचना तथा सञ्चारको समस्या जस्ता विविध समस्याका बाबजुद उनले गाउँपालिकाका ल्याएका योजनाहरु सर्वाधिक सफल बनेका थिए । उनका गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, किशोरीसँग उपाध्यक्ष कार्यक्रम र घरेलु एवं लैगिंक विभेद जस्ता विकृतिहरुको अन्त्यका लागि उनले चालेका अभियानले पुथा उत्तरगंगाका महिलाहरुको मुहार फेरिने आशा देखिएको थियो ।

राजधानीमा आयोजित एक कार्यक्रममा सहभागि भएर फर्कने क्रममा उनी चढेको रा १ झ २०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा उनीसहित उनकी आमा र एक पुरुषको मृत्यु भएको छ । जीप सडकदेखि झण्डै सात सयम मिटर तल खसेको छ ।

प्रतिक्रिया