युएईको आममाफीमा श्रम स्वीकृति सेवा दिइने


काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई)ले अलेखबद्ध (गैरकानुनी हैसियत) आप्रवासी श्रमिकलाई लेखबद्ध (कानुनी हैसियत) हुन दिइएको आममाफीको अवसरमा नेपालको श्रम स्वीकृति सेवा दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लेखबद्ध आउन युएई सरकारले राखिएको टेन्टबाटै नै श्रम स्वीकृतिको सेवा प्रदान गर्न लागेको हो । युएईले श्रम वा भिजिट भिसामा आइ भिसाको म्याद नाघेका (ओभरस्टे)हरू जरिवाना बुझाउन नसकी स्वदेश फर्कन नसकेको आप्रवासी श्रमिकलाई लक्षित गरी १ सप्टेम्बरदेखि ३० अक्टोबरसम्म आममाफी दिएको छ ।

‘युएईमा १० देखि १५ हजार नेपाली गैरकानुनी हैसियतमा रहेको छ । उनीहरूलाई युएईमा काम गर्न पाउने अवसर दिइएको छ । यो मौकामा नेपालको श्रम स्वीकृति दिई नेपाल सरकारको संयन्त्र भित्र ल्याउनुपर्ने हाम्रो दायित्व हो,’ श्रम मन्त्री शरदसिंह भण्डारीले भने, ‘नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन मन्त्रालयका सहसचिव गोविन्द रिजालको नेतृत्वमा प्रतिनिधि पठाउनेछौँ । जसमा वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषको प्रतिनिधि रहनेछ ।’ उनले रिजालको टोलीलाई पठाउन आन्तरिक गृहकार्य भइरहेको बताए ।

नेपाली दूतावासका अनुसार युएईमा ५ लाख नेपाली कार्यरत छन् । जसमध्ये भिजिट भिसा गई काम खोज्ने नेपालीको संख्या झन्डै २ लाख रहेको अनुमान गरिएको छ । त्यसमध्ये १० देखि १५ हजार जनाको आवासीय भिसाको म्याद छैन । दूतावासको अनुसार आममाफीमा जरिवाना मिनाहादेखि नयाँ रोजगारी पाउने अवसर दिइएको छ । पछिल्लो समयमा कामको खोजीमा भिजिट भिसामा गई ओभरस्टे हुने नेपालीको संख्या बढिरहेको थियो । ओभरस्टे हुनेमा नेपाली पुरुष भन्दा महिलाहरू बढी रहेको दूतावासले जनाएको छ ।

नेपाली दूतावासले तोकिएको अवधिभित्र श्रम भिसारभिजिट भिसामा आएर गैरकानुनी रूपमा कम्पनी छाडेका (भागेका) वा भिसाको म्याद नाघेर जरिवाना लागेका तथा अध्यागमनसम्बन्धी समस्या भोगिरहेका नेपाली श्रमिकलाई आममाफीमा सहभागी हुन अनुरोध गरेको छ ।’

प्रतिक्रिया