हत्या गरिएकी मुनालाई एक वर्षअघि पछ्याइरहेका थिए एक अपरिचित


काठमाडाैं-  दीपेन्द्र कुँवर  २१ वर्षीया मुना पाण्डेलाई आफ्नाे बहिनी मान्थे । अमेरिकाको  ह्युस्टन जानुअघि उनी मुनासँगै नेपालमा हुर्केका थिए । एक वर्षअघि पाण्डेले एक अन्जान व्यक्तिले आफूलाई पछ्याइरहेको भन्दै कुँवरसँग मद्दत मागेकी थिइन् ।

‘उनले मलाई बोलाएर कोही केटा उनको झ्यालमा देखिएकाे बताएकी थिइन् । कोही उनलाई पछ्याउँदै  उनको झ्याल र ढोका वरिपरि घुमिरहेकाे बताइकी थिइन् । त्यसैले उनले मलाई र पुलिसलाई बोलाएकी थिइन्’ कुँवरले अमेरिकी सञ्चारमाध्यम क्लिक टू हस्टनसित भने ।

त्यसपछि मुनाको अपार्टमेन्ट बाहिर क्यामेरा जडान गर्न मद्दत गरेको कुँवरले । उनका अनुसार क्यामेरा जाेडेपछि ती व्यक्तिहरूले पछ्याउन छाडेकाे मुनाले बताएकी थिइन् ।  पाण्डेलाई पछ्याउँदै आएको व्यक्तिको पहिचान भने हुन सकेको थिएन ।

गत साता मुनाको हत्या भएपछि सोही सीसीटीभी क्यामेराको सहयोगले प्रहरीले आरोपित बबि सिंह साहलाई पक्राउ गरेको थियो । फुटेजमा देखिए अनुसार शाहले दाहिने हातमा पेस्तोल बोकेका थिए । उनले पटकपटक ढोका खोल्नलाई ढोका ढकढक पारेका थिए । ढोका भित्रैबाट पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै प्रश्न गरेको आवाज सीसीटीभीको अडियोमा क्याप्चर भएको छ ।

अनुसन्धान अधिकृतहरुलाई उधृत गर्दै अमेरिकी संचारमाध्यमले लेखे अनुसार, शाहले पटक पटक ढकढक गर्दै ‘ओपन द डोर’ (ढोका खोल) भनेपछि २१ वर्षीया पाण्डेले ढोका खोलेको फुटेजमा देखिन्छ । उनले ढोका खोल्ने बित्तिकै शाहले उनलाई भित्र धकेलेका थिए र ढोका बन्द गरेका थिए । त्यसको करिब एक घण्टापछि शाह अपार्टमेन्टबाट निस्किएको भिडियोमा देख्न सकिन्छ ।

कुँवरका अनुसार  पाण्डेले शाहलाई चिनेकी थिइनन् । ‘उनले उसकाे बारेमा कहिल्यै भनिनन् ’ कुँवरले भने।

शाहलाई कुँवर प्रश्न गर्दै भन्छन्, ‘उनले किन त्यस्ताे गरे ? केही पनि साथमा नलिएर आएकी मुनाले आफ्नो लागि जीवन निर्माण गरिन् । आफैँले एउटा अपार्टमेन्ट किनिन्, आफैंले कार किनिन् । उनी दयालु थिइन्, उनी मायालु थिइन् । आफूले केही गर्न सक्छु भन्ने विश्वास उनीमा ’ कुँवरले भने ।

क्यामेरा नभएकाे भए सायद शाह कहिल्यै नसमातिने कुँवरकाे भनाइ छ ।

गत शनिबार  मुनाकाे टेक्सासको हयुष्टनमा हत्या भएको थियो । उनलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराइसकिएकाे छ । अदालतले उनको संलग्नता देखिने आधार रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ आज(मंगलबार)  हुँदैछ ।

 

 

 

प्रतिक्रिया