पर्यटनमन्त्री पाण्डेद्वारा गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण
लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताएका छन ।
भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले सरकारले विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएर अगाडि बढेको समेत बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवा शुल्कमा छुटसहित हवाई कम्पनीलाई आर्कषित गराउन खोजेको बताए । “अध्यागमन, श्रमलगायत अत्यावश्यक सेवाहरू भैरहवाबाटै सुरू गर्ने निर्णय गरेका छौँ । बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियमित उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भइरहेको छ”, मन्त्री पाण्डेले भने ।
यसअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा उनले विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको थियो । यसका लागि स्थानीयस्तरमा गर्नुपर्ने आवश्यक काम गर्न कर्मचारीलाई निर्देशन दिए । त्यस अवसरमा मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको भँदै अब बुद्धजन्मस्थल आएको अनुभूति हुने गरी सौन्दर्यकरणमा लाग्न आग्रह गरे । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको जानकारी दिए । उनले विमानस्थल नेपालको पूर्वमा चितवनदेखि सुदूरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउँमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।
उनकानुसार सन् २०२२ मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकामा सन् २०२३ मा चार हजार र सन् २०२४ को जुलाइसम्म नौ सय २३ जनाले मात्रै उडान भरेका छन् । मन्त्री पाण्डेसहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिदा निजी क्षेत्रको अर्बौं लगानी जोखिममा परेको बारे त्यहाँ गुनासो गरिएको थियो ।