ईपीजीको प्रतिवेदन बुझ्न भारतलाई प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट बताए ।

नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित समितिले तयार गरेको प्रतिवेदन बुझ्न भारत लामो समयदेखि उदासीन छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सन्धी गरेको स्मरण गर्दै त्यो युगान्तकारी काम भएको पनि स्मरण गरे ।

ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरू देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने पनि बताए । प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

‘नेपालले सन्तुलित, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ, कसैको कुभलो चिताउँदैनौ,’ उनले भने,‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ ।’

प्रतिक्रिया