गौरा पर्वले भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति पौडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका हुन् ।

यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रसन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रूपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्ने गर्दछन् ।

साथै, यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति–पत्नीबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ ।

 

प्रतिक्रिया