पार्टीले एक पटक फेरि संघर्ष गर्नुपर्ने बेला आएको छ : प्रचण्ड


काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले एक पटक फेरि संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालमा छिट्टै ठूलो आन्दोलन आउन लागेको बताएका छन् ।

रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आन्दोलनका निम्ति पार्टी पंक्ति एकढिक्का हुनुपर्ने बताए ।

‘नेपालमा छिट्टै एउटा ठूलो आन्दोलन आउनेवाला छ । त्यो आन्दोलनको नेतृत्व वामपन्थी प्रगतिशीलले गर्ने हुन् कि दक्षिणपन्थी अराजकतावादीले गर्ने हुन् रु यो सबाल पेचिलो भएको छ । यो कुरा हामीले विचार गर्नुपर्नेछ,’ अध्यक्ष प्रचण्डले भने । उनले २०६२ सालमा चुनवाङ्ग बैठकमा भनेको कुरा अहिले आएर सत्य भएको दाबी समेत गरेका छन् । उनले गणतन्त्र जनताका लागि भन्दा पनि बुर्जुवाका लागि आएको निष्कर्ष निकाले ।

‘मैले चुनवाङ्ग बैठकमा भनेको थिएँ– गणतन्त्र नेपालमा आयो आयो । तर, जनताको हुन्छ कि बुर्जुवाको हुन्छ रु गम्भीर प्रश्न उब्जिएको छ । त्यो बैठकमा मैले जे भविष्यवाणी गरेको थिएँ, अहिले त्यसकै लागि लडाइँ गर्ने बेला आएको छ,’ उनले थपे, ‘पार्टीले एक पटक फेरि संघर्ष गर्नुपर्ने बेला आएको छ । जसका लागि पार्टी एकताबद्ध गर्नुपर्ने छ । यो चुनौती हाम्रोसामु छ ।’

उनले संसदमा विश्वासको मत नपाएपछि आफू कमाण्डर भएर निस्किएको पनि बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाचार भएर सत्तामा गएको टिप्पणी समेत गरे । उनले बंगलादेशको उदाहरण दिँदै संख्याभन्दा ठूलो जनमत रहेको बताए ।

‘संख्या सबै कुरा होइन । जनमत ठूलो कुरा हो । जनमत अग्रगमनको पक्षमा हुन्छ । बंगलादेशलगायत दक्षिण एसियामा जसरी क्रान्ति देखियो । यदि सरकारले संख्याको बलमा जे पनि गर्न खोज्ने हो भने लाखौं जनता सडकमा उत्रिने छन्,’ उनले भने । उनले केही प्रतिक्रियावादीले पार्टी फुटाउन खोजेको दाबी पनि गरे । ‘प्रतिक्रियावादीहरूले पार्टी फुटाउने खोजेकै हुन् । तर, अहिले पार्टी फुटको विषय खारेज गरिएको छ । प्रभाकरले पार्टी फुटाउँछ भन्ने कुरामा स्पष्ट भएको छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मासँगको बहसले पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘कमरेड प्रभाकरले केही कुरा राख्नु भयो । कमरेड प्रभाकरसँग मेरो भेट भएदेखि नै अटुट रुपमा सँगै काम गर्दै आइरहेका छन्, तर उहाँले भनेको जस्तो उहाँको स्वभाव र मेरो के हो भन्ने कुरा त सिंगो देशले बुझेको कुरा छ । त्यो स्वभावको कारणले हामी बेलाबेलामा अगुल्टो ठोसिएझैं ठोसिने चाहिँ गरेकै छौं । अहिले मात्रै होइन, जनयुकालमा पनि, पछि पनि र अहिले पनि, तर यो अगुल्टो ठोसिए जस्तो ठोसिनु आगो बाल्न, खाना पठाउन र राम्रोको लागि हुँदै आएको छ । म विश्वास गर्छु यो पटक अझ राम्रो हुनेछ ।’

प्रतिक्रिया