नयाँ भवनमा मन्त्रीहरू…


काठमाडौं – संघीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न निवासमा सर्न थालेका छन्। अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सरेको शहरी विकास मन्त्रालयले जनाएको छ। राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सरेका छन्।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, शहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता बिनु बज्राचार्य कुँवरले अहिलेसम्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडी भैँसेपाटी निवासमा सरेको जानकारी दिए।

त्यसैगरी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसमेत भैँसेपाटीस्थित नवनिर्मित निवासमा सरिसकेको प्रवक्ता कुँवरले जानकारी दिए। ‘साउनभित्र सबै मन्त्रीलाई हरिहर भवनस्थित मन्त्रीनिवासबाट भैँसेपाटीस्थित मन्त्रीनिवासमा स्थानान्तरण गर्ने मन्त्रालयको योजना छ’, उनले भने, ‘मन्त्रीज्यूहरू बसाइँ सरेपछि त्यसलाई मर्मतसम्भार तथा रङरोगन गरी न्यायाधीशहरूको निवासका रूपमा विकास गरिने छ । ती भवनमा न्यायाधीशहरू बस्नु हुनेछ।’ गत फागुनमा मन्त्रिपरिषद्ले मन्त्रीनिवास भैँसेपाटी सारेर हरिहर भवनमा सर्वोच्च अदालतका न्यायाधीशहरूको आवास बनाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतका २० जना न्यायाधीश र एक जना मुख्य रजिस्ट्रारलाई २१ वटा आवास चाहिन्छ । संघीय मन्त्रीनिवास निर्माण आयोजनाका इन्जिनियर रञ्जन दासका अनुसार मन्त्रीनिवासको अहिलेसम्मको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ । इन्जिनियर दासले मन्त्रीनिवास अन्तर्गत कुल ३० वटा भवन निर्माण भएका छन्, जसमध्ये २४ वटा मन्त्रीका लागि, दुई वटा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्षका लागि र एउटा संघीय प्रतिनिधि सभाका उपसभामुखको निवासका लागि निर्माण भइरहेका छन् ।

त्यसै गरी सुरक्षाकर्मीका लागि तीन वटा भवन निर्माण भइरहेका छन्। यो ९६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ।

 

प्रतिक्रिया