पूर्व तयारीका कारण मनसुनजन्य विपद्‍बाट क्षति कम भयो : गृहमन्त्री लेखक


काठमाडौँ – गृह मन्त्री रमेश लेखकले मनसुनजन्य विपद्‍बाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्व तयारीको नतिजा भएको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आइतबारको बैठकमा गृह मन्त्री लेखकले भने, “अत्यधिक वर्षा भए पनि तुलनात्मक रूपमा जनधनको क्षति कम भएको छ । त्यो पूर्व तयारीको नतिजा हो । हामीले गरेका प्रतिबद्धताअनुसार नै काम भइरहेका छन् । केहीमा कमजोरी होला, तर प्राकृतिक प्रकोपमा सजगता अपनाइ काम गरिरहेका छौँ ।”

बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्य योजनाका विषयमा छलफल भएको थियो । गृह मन्त्री लेखकले सरकारले मनसुनजन्य घटना एवं विपद् व्यवस्थापनमा के कार्य भइरहेका छन् भन्ने विषयमा जानकारी गराएका थिए ।

उनले भने, “नेपालमा मनसुन अझै डेढ महिनाभन्दा बढी समय रहन्छ, देशका अधिकांश भागमा सरदरभन्दा बढी पानी परेर जमिन गलेका कारण विपद्का घटना हुनसक्ने भएकाले चनाखो हुँदै थप कदम चाल्ने काम भइरहेको छ ।”

गृह मन्त्री लेखकले चीन सरकारको सहयोगमा करिब रु। पाँच करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्त गरी देशको विभिन्न गोदाम घरमा भण्डारण गरिएको जानकारी दिए । “थप रु। १७ करोड बराबरको उद्धार तथा राहत सामग्री प्राप्तिको प्रक्रियामा रहेको छ”, उनले भने । गृह मन्त्री लेखकका अनुसार २०८१ जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य तथा विपद्का एक हजार दुई सय १२ घटना घटेकामा पहिरो, बाढी र चट्याङमा परी एक सय ७० जनाको मृत्यु भएको थियो । ती घट्नामा परेर ४४ जना बेपत्ता भएका छन् भने एक सय ९७ जना घाइते भएका थिए ।

गृह मन्त्री लेखकका अनुसार हालसम्म पहिरोमा परेर मात्र एक सय नौ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३९ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट ३५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । चट्याङमा परेर २४ जनाको मृत्यु भएको उनले जानकारी दिए । उनले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गरी १८ हजार सात सय ७७ सुरक्षाकर्मी राहत, खोज तथा उद्धारमा खटिएको जानकारी दिए । आगामी डेढ महिना अझै मनसुन बाँकी रहेकाले सोही अनुसार गृह मन्त्रालयले गृहकार्य गरी पूर्व तयारी गरिरहेको उनले बताए ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिसित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, व्यवस्थापनमा भइ गरेका क्रियाकलापको निरन्तर अनुगमन र पृष्ठपोषण गर्नुका साथै समितिको छलफलको क्रममा रहेका अन्य विषयगत कानुन निर्माणमा विपद् जोखिम न्यूनीकरणको आयाम समावेश गर्न अपेक्षा गरिएको गृह मन्त्री लेखकको भनाइ थियो ।

बैठकमा गृहमन्त्री लेखकले सिमलताल बस दुर्घटनाको अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयनको कार्य योजनाका सम्बन्धमा प्रतिवेदन पेस भइसकेको र प्राप्त भएका सुझावअनुसार मन्त्रालयले काम कारबाही थाल्ने बताए । गत असार २८ गते नारायणगढ(मुग्लिङ खण्डको भरतपुर महानगरपालिका(२९ सिमलतालमा पहिरोमा परी दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए ।

प्रतिक्रिया