राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेकोले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्‌, व्यापार, लगानी, पर्यटन तथा मानव संशोधन विकास नेपालको प्राथमिकता रहेको बताए । उनले नेपालमा जलविद्युत् विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारका कयौँ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकता भारत पनि काम गर्न इच्छुक रहेको बताए । उनले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।

नेपाल भारबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पारेको जनाइएको छ।

प्रतिक्रिया