महोत्तरी दम्पत्ति अपहरण: अनुसन्धान नसकी अभियुक्त सार्वजनिक गर्न प्रहरीलाई किन हतारो ?


काठमाडाैं – प्रहरीले आइतबार एक महिनादेखि वेपत्ता महोत्तरीको पिपरा गाउँपालिका–५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवी झाको घटनामा संलग्न भएको अभियोगमा ४ जनालाई सार्वजनिक गर्यो।

अनुसन्धानमा उनीहरुको संलग्नता देखिएको प्रहरीको दावी छ। तर, बेपत्ता दम्पतीका अवस्था अझै अज्ञात छ। प्रहरीले पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्दैगर्दा दम्पत्तीको अवस्थाबारे किन केही भनेन।

घटनामा उनीहरु चारै जनाको संलग्नता अनुसन्धानबाट देखिएको महोत्तरीका एसपी दिनेश आचार्यको दावी छ। तर, एसपी आचार्य आफैं भन्छन्, ‘उनीहरुले भने अपराध स्वीकार गरिसकेको अवस्था छैन । उनीहरुले अपराध नस्वीकारे पनि अनुसन्धानबाट संलग्नता पुष्टि भइसकेको छ।’

पत्रकार सम्मेलनमा एसपी आचार्यले पक्राउ परेकाहरु झा दम्पतीलाई कहाँ राखेको छ भन्ने कुरा खुलाउन किन चाहेनन् जसले गर्दा झा दम्पतीको हत्या भइसकेको हुनसक्ने अनुमान गरेपनि तर पुष्टि भने अझै हुन सकेको छैन।

अपहरित मान्छेको अवस्था अज्ञात रहेको बेला प्रहरीलाई पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्न हतार त भएको होइन ? गम्भीर प्रश्न उब्जेको छ। अनुसन्धान एउटा निचोडमा पुग्दानपुग्दै प्रहरीलाई कहाँबाट दबाब आयो र अभियुक्त सार्वजनिक गर्यो ?

प्रहरी अनुसन्धानमा उनीहरु चारैजना अभियुक्त हुन भन्ने के प्रमाण छ ?  यस विषयमा प्रहरीले घटना कसरी भयो ? कहाँ लग्यो ?  हत्या भएको छ/छैन प्रहरीले सबै यथार्थ कुराहरु प्रष्ट रुपमा खुलाउन पर्ने होइन ?

यस विषयमा पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरीका अनुसार सामाजिक दबावलाई कम गर्न यस्तो गरेको हुनसक्छ। ‘कुनै घटनामा सामाजिक दबाव बढी हुन्छ। यस्ता दबावलाई कम गर्न र आम सर्वसाधारणको प्रहरीले काम गरिरहेको छ भन्ने देखाउनलाई पनि मुद्दा अदालत नपुग्दै सार्वजनिक गर्ने गरिन्छ,’ मल्लले भने।

घरमा सुतिरहेको अवस्थामा उनीहरु गत फागुन १० गतेदेखि ओछ्यानसहित बेपत्ता भएका थिए। बेपत्ता भएकै दिनदेखि प्रहरीले उनीहरुको अपहरण भएको हुनसक्ने अनुमानमा खोजी सुरु गरेको थियो। तर, घटनाको करिब एक महिना बितिसक्दा पनि उनीहरुको अवस्थाबारे प्रहरीले कुनै संकेतसम्म पाउन सकेको छैन्।

परिपक्क तरिकाले अनुसन्धान टुंग्याएर घटनाका अभियुक्तहरुलाई सार्वजनिक गरेको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवर बताउँछन्। ‘अज्ञात दम्पत्तिको अवस्थाबारे प्रश्न गर्दा महोत्तरीकै प्रहरी टोलीलाई थाहा होला भन्दै कुँवर पन्छिए।

प्रतिक्रिया