सन्दीप र दीपेन्द्र सम्मिलित टिमको पहिलो जित


काठमाडौं – ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत सातौ खेलमामा नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्स विजयी भएको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको सन्दीप लामिछाने र दीपेन्द्रसिंह सम्मिलित भ्यानकुभरले ५ विकेटको जित निकालेको हो।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन रदरफोर्डले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पारे। ३.२ ओभर बलिङ गरेका सन्दीपले मात्र १४ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिए।

११० रनको लक्ष्य पछ्याएको सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो। भ्यानकुभरको जितका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाउँदा कप्तान उस्मान ख्वाजाले ३१ रन जोडे।

२ बल खेलेका दीपेन्द्र भने नटआउट रहे। यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी-२० लिगको यात्रा अन्त्य गरेको छ। समूह चरणाका सबै खेल खेलिसक्दा एक जित र वर्षाले अवरुद्ध खेलमा १ अंक बनाएको भ्यानकुभर तीन अंकसहित तालिकाको पुछारमा छ।

प्रतिक्रिया