यूएईमा मृत्युदण्ड पाएकालाई नेपालीले बचाए, तर दुर्गाले उठाएको १ करोड १० लाख कता पचाए ?


काठमाडौं– २०७६ जेठ २० गते संयुक्त अरब इमिरेट्स (यूएई)मा साथीको हत्या गरेको आरोपमा दुई नेपालीलाई पक्राउ गरिएको थियो । मध्यविन्दु नगरपालिका–११ नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा धादिङको नेत्रवती गाउँपालिका–४ का पहलमान थापा मगर र चिसंखुगढी–३ ओखलढुंगाका भुवन श्रेष्ठ पक्राउ परेका थिए ।

यूएईमा सँगै काम गर्ने उनीहरुबीच झगडा हुँदा भुवन र पहलमानले बाबुरामलाई चक्कु प्रहार गरेको आरोप थियो । त्यसपछि उपचारका लागि लैजाँदै गर्दा बाटौमै बाबुरामको मृत्यु भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई यूएईको अदालतले आजीवन मृत्युदण्डको फैसला गरेको थियो ।

५ वर्ष जेल बसेपछि माथिल्लो अदालतमा मुद्दा विचाराधीन भइरहँदा नेपालमा मृतकका परिवार र दोषी ठहर व्यक्तिका परिवारबीच ५०÷५० लाख ‘ब्लडमनी’मा सहमति जुटेको थियो । यूएईको कानुनमा हत्या गरेबापत पीडित परिवारले पैसा स्वीकार गरेमा त्यो पैसा तिरेर अभियोग फिर्ता लिन सकिने व्यवस्था छ ।

सहमति अनुसार उक्त रकम जुटाउन नेपालस्थित विभिन्न मगर संघ–सङ्गठनहरूले आर्थिक सङ्कलन अभियान चलाएका थिए । भुवन श्रेष्ठका बुवा यमनारायण र पहलमानका लागि मगर संघको नेतृत्वमा खाता खोलिएको थियो ।

रकम संलकन भएपश्चात भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरेका छन् । ५ वर्षअगाडि दुवैका लागि लागि ५०/५० लाख ब्लडमनी माग भएको थियो । तर, केही थप गरेर १ करोड ८ लाख भुक्तानी गरेको अभियन्ता तेज आले मगरले बताए । रकम बुझाएपछि उनीहरुको मृत्युदण्डको सजाय टरेको थियो । उनीहरूको सहमति अनुसार नेपालमै रकम लेनदेन गरेर कन्सुलर सेवा विभाग मार्फत कागजात युएई पठाइएको थियो । उक्त कागजात दूतावास हुँदै अदालतमा पठाएपछि अदालतबाट मुद्दा फिर्ता भएको हो ।

उनीहरुमध्ये भुवनलाई पहिले जेलमुक्त गरिएको थियो । उनी गत बिहीबार नेपाल फर्केका थिए । केही दिनपछि पहलमान पनि बुधबार बिहान फर्केको उनका मामा समेत पर्ने तेज आले मगरले बताए । पहलमानलाई नेपाल मगर संघ केन्द्र तथा नेपाल मगर संघ यूएईका पूर्वअध्यक्ष भुवन मगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

दुवैलाई नेपाल फर्काउने अभियानको नेतृत्व गर्नेमा तेज आले मगर पनि थिए । उनले विभिन्न अभियान चलाएर स्वदेश तथा विदेशमा रहेका नेपालीबाट १ करोडजति संकलन गरेका थिए ।

तर, पहलमान थापा मगर र भुवन श्रेष्ठ नेपाल आएपछि आफूलाई सामाजिक अभियन्ता बताउने नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईं भने युट्युबरको झुण्ड बोकेर विमानस्थल पुगे । उनले मगर संघले गरेको कार्यलाई आफूले जस लिने उद्देश्यका साथ युट्युबरलाई अन्तर्वार्ता दिन पनि भ्याए । १ रुपैयाँ पनि नदिएका उनले आफूले नै अभियान चलाएर दुई नेपालीलाई फर्काएको सम्म भन्न भ्याए । उनले आफ्नो फेसबुकमा पोष्ट राखेरसमेत प्रचारबाजी गरेका छन् ।

उनले फेसबुकमा लेखेका थिए, ‘जीवन र मृत्युको दोसाँधमा दुवइको जेलमा मृत्यु दण्डको सजाय भोगिरहेका धादिङ्गका भुवन श्रेष्ठ र ओखलढुंङ्गाका पहलमान थापा मगरलाई हाम्रो नागरिक बचाउ महाअभियान, सञ्चारकर्मी मगर संघ नेपाल र प्रवासी नेपाली दाजुभाई दिदीबहिनीहरुको समेत विशेष पहलमा १ करोडा १० लाख नगद जम्मा गरी नेपाल ल्याउन सफल भइएको छ ।’ जबकी पीडित परिवारलाई १ करोड ८ लाख बुझाइएको छ ।

उता प्रसाईले प्रचारबाजी गरिरहँदा भुवनका मामा पर्ने तेज आले मगरले भने आफूले तनाव झेल्नुपरेको बताएका छन् । सहयोग गर्नेहरुले आफूलाई सम्पर्क गर्दै ‘दुवै नेपालीलाई त दुर्गा प्रसाईंले चलाएको अभियानबाट संकलन भएको रकमबाट जेलमुक्त गरिएको रहेछ । अनि हामीहरुले दिएको रकम कता गयो’ भनेर प्रश्न गरेको आलेले बताए ।

धेरै तनाव र दबाब आएपछि आलेले पत्रकार सम्मेलन गर्दै वास्तविकता सार्वजनिक गरेका छन् । ‘दुर्गा प्रसाईंले १ करोड १० लाख उठाएर दुई नेपालीलाई फिर्ता ल्याए । हामीले दिएको पैसा कता गयो भनेर प्रश्न गरे । तर, हाम्रो स्टेटमेन्टमा दुर्गा प्रसार्ईको नामै छैन’ उनले भने ।

पहलमान र भुवन विमानस्थलमा अवतरण हुँदा पनि प्रसाईं पुगेको उनले बताए । तर, पहलमानको ब्लडमनीमा भने प्रसाईंले एक रुपैयाँ पनि नदिएको तेजले बताए । ‘उहाँसँग सहयोग माग्न गएका हौं । तर दुर्गा प्रसाईंले एक पैसा पनि दिएनन् । ५० हजार दिने प्रतिवद्धता गरेका थिए तर दिएनन्’ उनले भने । यस्तै आफूलाई सामाजिक अभियन्ता बताउने इसा गुरुङले पनि प्रसाईंको प्रचार गरेकी थिइन् । उनले दुर्गा प्रसाईले पहलमा ५० लाख बढी ब्लडमनी संकलन गरि पहलमानको उद्धार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् । तर, हाल त्यो पोष्ट उनले हटाइसकेकी छिन् ।

पहलमानका लागि ब्लडमनी सङ्कलक अभियन्ताहरूले प्रसाईंले आर्थिक सहयोग नगरेको स्पष्ट पारेका बेला प्रसाईंलगायत उनका साथमा हिँड्ने युट्यूबरहरू भने उक्त रकम दुर्गा प्रसाईंकै नेतृत्वमा सङ्कलन भएको हौवा पिटिरहेका छन् ।

पीडित परिवारलाई ब्लडमनी बुझाउनेहरुले १ करोड ८ लाख बुझाए भने, प्रसाईंले कसलाई १ करोड १० लाख बुझाएका हुन् भनेर यतिबेला सामाजिक सञ्जालमा प्रश्न आइरहेका छन् ।

 

प्रतिक्रिया