

‘सरकार गठन’बारे कांग्रेस पदाधिकारी बैठकले यस्तो गर्दैछ निर्णय

काठमाडौं– सरकार समीकरणका लागि नेकपा माओवादी केन्द्रले राखेको प्रस्तावबारे नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सोमबार छलफल चलाइने भएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा हुने बैठकमा कांग्रेस नेतृत्वमा सरकार गठनका लागि आएको प्रस्तावबारे एउटा धारणा बनाउन लागिएको छ।
उच्च स्रोतका अनुसार माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीको पनि एकमतको धारणा ननिस्किएकाले तत्काल अर्को समीकरणमा सरकारको नेतृत्व दाबी नगर्ने निचोडमा देउवा पुगेका छन्।
‘ओली सरकार विदा गर्नु भनेको अवसर हो तर विदा गर्ने प्रावधान र प्रक्रियामा अन्य दल अलमलमा रहेकाले अहिले पर्ख र हेरको नीति होइन, नेतृत्व नै नगर्ने निर्णयमा पुगिएको छ’, कांग्रेस स्रोतले भन्यो।
कांग्रेसभित्र सरकारमा जानुपर्ने र जान नहुने भन्ने दुई खाले धारणा छन्। बरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई विदा गरी अर्को समीकरण बनाउनुपर्ने धारणा राख्छन्।
तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हालै आधिकारिक धारणा सार्वजनिक गर्दै अहिले पार्टी सरकार गठनका विषयमा सक्रिय नहुने जनाएका थिए। सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई सोही धारणामा एकमत हुन सहमत गराउनेछन्।

