जलवायुका मुद्दामा संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा उपसभामुख रानाको जोड


काठमाडौं – उपसभामुख इन्दिरा रानाले जलवायुसम्बन्धी मुद्दाहरुमा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छिन् ।

भारतको नयाँ दिल्लीमा आयोजित उर्जासम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसदहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका जलवायु मुद्दाहरूमा आवश्यक कदम चाल्न सरकारलाई बाध्य पार्न सक्ने भएका कारण संसदको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी हुन् ।

उनले जलवायुसम्बन्धी गतिविधिहरूमा लगानी गर्ने बिषयमा सरकारहरूको भूमिकाको बारम्बार छलफल भइरहेको तर संसदहरूको भूमिका बढाउनका लागि पनि सबैले ध्यान केन्द्रित गर्न आग्रह गरिन् ।

‘जलवायु परिर्वतनका मुद्दामा सरकारले गरेका प्रतिबद्धताहरू पुरा गराउन संसदले आफ्नो देशका कार्यकारीहरूलाई जवाफदेही बनाउने क्षमता राख्छन् । संसदको भूमिकालाई प्रभावकारी बनाउँदै आवश्यक कानुन निर्माण र कार्यान्वयनका लागि भूमिका खेल्न सक्छन्,’ उनले भनिन् ।

जलवायु परिर्वतनको असर न्युनीकरण गर्नका लागि राजनीतिक इच्छाशक्ति आवश्यक भएको बताउँदै उपसभामुख रानाले यसका लागि जनचेतना जगाउनु र जलवायु–सकारात्मक नीतिहरूको वकालत गर्न आवश्यक रहेको बताइन् ।

ग्लोबल साउथले सौर्य, हावा र जलविद्युत जस्ता नवीकरणीय ऊर्जा स्रोतहरू प्रयोगका लागि वकालत गरिरहेको चर्चा गर्दै कृषिमा निर्भर जनसंख्यालाई त्यसको असर पर्नबाट जोगाउन सोही अनुसारको कार्यक्रम कार्यान्वयनका लागि दिइन् ।

‘हरितगृह ग्यास उत्सर्जन घटाउन र ग्लोबल साउथमा सबैभन्दा कमजोर समुदायहरूलाई सहयोग गर्न प्रभावकारी विश्वव्यापी सहयोग आवश्यक छ । यी आवश्यकताहरूलाई व्यापक र समावेशी रूपमा सम्बोधन गरेर, हामी जलवायु परिवर्तनका प्रभावहरूलाई न्यूनीकरण गर्न सक्छौ,’ उनले भनिन् ।

प्रतिक्रिया