धरौटी बुझाउन नसकेपछि बमजनलाई थुनामै पठाइयो


काठमाडौं – आफूलाई तपस्वी बताउने रामबहादुर बमजन व्यक्ति बेपत्ता मुद्दामा तीन लाख रुपैयाँ धरौटी नबुझाएपछि थुनामा गएका छन् ।

सिन्धुपाल्चोक जिल्ला अदालतमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले उनीसँग तीन लाख रुपैयाँ धरौटी मागेको इजलास अधिकृत अक्षयकुमार दनुवारले बताए । तर, सर्लाहीबाट सिन्धुपाल्चोक उपस्थित गराइएका बमजमले धरौटी बुझाउन नसकेपछि उनलाई थुनामै पठाइएको हो ।

बमजनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका बाडेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग लागेको थियो ।

धरौटी रकम राख्न सकेको भए पनि बमजन थुनामुक्त भने हुने थिएनन् । यसअघि असार १७ गते सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउने फैसला अनुसार उनी जेलमै छन् ।

जेलबाट नै मुद्दाको सुनुवाइका लागि उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । ०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसन्धान प्रतिवेदनमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीकले बमजनविरुद्ध बाल यौन दुराचार मुद्दा दायर गरेको थियो ।

अदालतबाट ०७७ असार २१ मा पक्राउ पूर्जी जारी भए पनि बमजन फरार रहँदै आएका थिए । त्यही पूर्जीका अधारमा बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौंको बूढानीलकण्ठबाट ०८० गत पुस २४ मा पक्राउ गरेको थियो । त्यही दिन सर्लाही पठाएर बमजनको सुनुवाइ सुरु गरिएको थियो ।

जिल्ला अदालतको फैसला अनुसार महोत्तरीको जलेश्वर जेलमा रहेका बमजनलाई मुद्दाको सुनुवाईका लागि सिन्धुपाल्चोक लगिएको थियो ।

प्रतिक्रिया