सिमलताल दुर्घटनाः आज तेस्रो दिन पनि खोजी गरिँदै, गृहसचिवसहितका टोली घटनास्थलमा जाँदै


चितवन – त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र तिनमा सवार यात्रुको खोजी कार्य पुनः आज (आइतबार) बिहानबाट शुरू हुने भएको छ ।

बिहान ७ बजेबाट पुनः काम शुरू गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शुरूकै दिनदेखि प्रहरीलगायत सुरक्षा निकायले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिवार साँझदेखि खोजी कार्य रोकिएको थियो ।

प्रजिअ यादवका अनुसार आज गृहसचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिराेले बगाएर बेपत्ता भएका बसका यात्रीमध्ये तीन जनाको शव भेटिएको छ । शनिवार तीनवटा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । जसमध्ये दुई जनाको पहिचान खुलेको छ ।

पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन् । साहको शव शनिवार बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।

काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार रहेका दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

शुक्रवार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा खसेका थिए ।

 

प्रतिक्रिया