गैंडाकोटमा भेटिए दुई शव, त्रिशूलीमा बेपत्ता बसका यात्रु भएको अनुमान
काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डको सिमतालमा पहिरोसँगै त्रिशूली नदीमा बपेत्ता दुई वटा बसका यात्रुमध्ये दुई जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ ।
शुक्रबार बिहान दुई वटा बस बेपत्ता भएका थिए । शनिबार तीन वटा शव भेटिएका हुन् । एक शव चितवनस्थित गोलाघाटमा भेटिएको थियो भने दुईवटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् । पूर्वी नवलपरासीको गैंडाकोट नागरपालिका–७ स्थित नारायणी नदीमा दुई जना पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । नारायणी नदी किनारामा एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
यी दुबै शवको सनाखत भने हुन सकेको छैन । तर, प्रहरीले शुक्रबार त्रिशूलीमा बेपत्ता भएका बसका यात्रु भएको अनुमान गरेको छ । यसअघि चितवनको गोलाघाटको नारायणी नदीमा भेटिएको शव भारत बिहारका ऋषिपल साह भएको पुष्टि भएको थियो ।
उनी त्रिशूलीमा बेपत्ता भएको काठमाडौंबाट रौतहट जाँदै गरेको बागमती प्रदेश ३००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु रहेको प्रहरीले जनाएको छ । यता त्रिशूलीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस र यात्रुको खोजी कार्य जारी राखेको छ । तर, बस हालसम्म भेटिएको छैन ।