राष्ट्रिय सभा बैठक स्थगित गरिएकोमा चार दलले जनाए आपत्ति


काठमाडौँ – बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित भएकोप्रति चार दलले आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त प्रेस विज्ञप्ति निकालेर कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमतिको बाबजुद अचानक बैठक स्थगित भएको बताएका छन् ।

राष्ट्रिय सभाले विधेयकहरूमा आफ्नो सुझाव र संशोधन राख्न पाउने संवैधानिक र कानूनीअधिकार समेत हनन भएको उनीहरूको ठम्याइ छ । विज्ञप्तिमा एमाले प्रमुख सचेतक भगवती न्यौपाने, काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकाय, जसपा संसदीय दलका नेता मृगेन्द्रकुमार सिंह र लोसपा संसदीय दलका नेता शेखरकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

असार २३ गते नै नियमित कार्यसूचीमा आएका आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुलसम्बन्धी विधेयक २०८१ लाई पारित गर्नुपर्नेमा अर्थमन्त्रीको गलत मनसायका कारण बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रीको अनुपस्थिति भन्दै स्थगित गरिएको ती दलको दाबी छ ।

यद्यपि राष्ट्रिय सभा अध्यक्षको सचिवालयले भने राष्ट्रिय सभा नियमावलीको व्यवस्थाअनुसार बैठक स्थगित नै गर्नुपर्ने अवस्था आएका कारण स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया