प्रचण्डको ब्रिफिङ : देउवा प्रधानमन्त्री बन्न तयार छैनन्, सबै सुचना पाएको थिएँ

अब सबै कुरा राष्ट्रपतिको विवेकमा भर पर्छ


काठमाडौं – बुधबार सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा प्रतिनिधीसभा र राष्ट्रियसभा दुवैमा प्रतिनिधित्व गर्ने सबैलाई बोलाइएको थियो ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सरकार संविधानको कुन व्यवस्थाअनुसार आह्वान गर्ने भन्ने विषय राष्ट्रपति रामचन्द्र पौडेलको विवेकमा भर पर्ने बताए ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमको ब्रिफिङ पनि गरे । बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको पक्षमा मतदान गर्ने निर्णय पनि गर्र्यो ।

ब्रिफिङका क्रममा उनले एमाले र कांग्रेसबीच सरकार गठन गर्नका लागि उद्योगी तथा सांसद विनोद चौधरीको घरमा तयारी भएको र उद्यमी रामेश्वर थापाको घरमा सम्झौता भएको खुलासा गरे । यसबाहेक काँग्रेस र एमालेबीच सत्ता गठबन्धन बनाउनका लागि छलफल भइरहेका सूचना आफूकहाँ आएको पनि उनको भनाइ थियो ।

प्रचण्डले नयाँ गठबन्धन बन्न लागेको सुचना नपाएको खबर बाहिरीएको थियो । तर उनले सबै सुचना आफुसँग आएको बैठकमा बताए ।

उनले विश्वासको मत लिने र त्यसपछि संविधानको कुन व्यवस्थाअनुसार सरकार गठन हुने भन्नेमा विवाद रहेको बताए ।

उनले भने ‘संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने कि संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने भन्नेमा बहस छ, मत विभाजित छन,अन्ततः राष्ट्रपतिको विवेकमा भर पर्छ ।’

संविधानको धारा ७६ को उपधारा २ मा संसद्मा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्ने व्यवस्था छ भने धारा ७६ को उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

प्रचण्डले बैठकले देउवाले प्रधानमन्त्री बन्न अस्विकार गरेको पनि खुलाए ।

काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा संविधानको धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्री  तयार छैनन्,प्रचण्डले भनेका थिए । यसको अर्थ विश्वासको मत लिएपनि राजीनामा दिएपनि प्रचण्डपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने देखिन्छ ।

माओवादीभित्रै स्पष्ट अल्पमतमा परिसकेको अवस्थामा विश्वासको मत नलिएर सम्बोधन गरेरै सिधै राजीनामा गर्न पनि केही नेताहरुले प्रचण्डलाई सुझाव दिइरहेका छन् ।

प्रधानमन्त्रीले भोली विश्वासको मत लिन संसद सचिवालयमा पत्र पठाएका छन् ।

प्रतिक्रिया