कांग्रेसबाट को बन्ला गृहमन्त्री ? यी हुन् सम्भावित मन्त्रीहरु


काठमाडौं– नयाँ सत्ता समिकरण निर्माण भएसँगै सत्ता घटकको ठुलो दल नेपाली कांग्रेसले मन्त्रीको खोजी सुरु गरेको छ ।

नयाँ समिकरण अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने सहमती छ । कांग्रेस गृह मन्त्रालयसहित सरकारमा सहभागि हुनेछ ।

कांग्रेस एक पदाधिकारीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सरकारमा पठाउने मन्त्रीका लागि आवश्यक गृहकार्य गरिरहेका छन् ।

कांग्रेसबाट गृहमन्त्रीमा कृष्णप्रसाद सिटौला र रमेश लेखकको सम्भावना बढी छ । यसबाहेक गृहमा प्रकाशमान सिंह र प्रकाशशरण महतले पनि इच्छा देखाएका छन् ।

उपप्रधानमन्त्रीसहित गृह पाए सिटौला र प्रकाशमानमध्ये एकजनाले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको देउवा निकट स्रोतले बतायो ।

देउवा निकट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले आफु झापाकै भएकाले सिटौलालाई गृहमन्त्रीमा रुचाएका छैनन् ।

सिटौलाको गृहजिल्ला पनि झापा हो ।

परराष्ट्रमन्त्रीमा जाने इच्छा देउवा पत्नी आरजु राणाले पनि देखाएकी छन् ।

उनी मन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेस नेताहरु बताउँछन् ।

शंशाक कोइराला, गगन थापा, विनोद चौधरी, रामहरी खतिवडाको नाम पनि मन्त्रीको चर्चामा छ ।

गगन थापाले पनि कांग्रेसबाट नेतृत्व गर्ने अवसर पाएमात्रै मन्त्री बन्ने सम्भावना छ ।

यस्तै बद्री पाण्डे, दिपक खड्का, प्रदीप पौडेल, उदय शमशेर राणा, चन्द्र भण्डारी, ईश्वरी न्यौपाने, अजयकुमार चौरसीया, हृदयराम थानीको पनि मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेस–एमाले समिकरण अनुसार पहिलो चरणमा ओली र दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्नेछन् ।

केन्द्रसहित प्रदेश सरकारको नेतृत्व पनि दुई पार्टीले आलोपालो गर्ने सहमती भइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने सम्भावना अहिलेकै अवस्थामा देखिएको छैन ।

नयाँ सरकार गठन प्रक्रिया प्रधानमन्त्रीको विश्वासको मत लिएपछि सुरु हुनेछ ।

नेकपा एमालेले भने आजको सचिवालय बैठकबाट मन्त्रीहरुको नाम टुंगो लगाउने जनाइएको छ ।

प्रतिक्रिया