सुदूरपश्चिममा कहाँ–कहाँ छ सडक अवरुद्ध ?


काठमाडौं- सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाहरूमा पहिरोले सडक अवरुद्ध भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार सडकमाथिबाट पहिरो आएपछि बैतडीको पाटन नगरपालिकाको साँणीघाँटीमा जयपृथ्वी राजमार्ग आइतबरदेखि बन्द भएको छ। खोडपे–बझाङ जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै चार दिनदेखि लगातारको वर्षाले पहिरो खसेपछि दार्चुला–गोकुेलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। अहिले अवरुद्ध सडक एक्स्काभेटर लगाएर खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्र रावतले बताए । सडक अवरुद्ध भएपछि बिहानैदेखि बाहिर जिल्लाबाट दार्चुला सदरमुकाम खलंगा भित्रिने र जिल्लाबाहिर जाने गाडी उक्त क्षेत्रमा जाममा परेका छन् ।

उता असार १७ गते राति परेको अविरल वर्षासँगै बाजुरको बडिमालिका नगरपालिका–७ जिल्लीको पहिरोका कारण साँफे–मार्टडी सडक अवरुद्ध भएको थियो । तर, हालसम्म पनि उक्त राजमार्ग सुचारु हुन सकेको छैन ।

यता कञ्चनपुरको बेदकोटमा बाढीले कल्भर्ट बगाउँदा यातायात ठप्प भएको छ । बेदकोट नगरपालिका–७ सुँडामा बाढीले २५ मिटरको कल्भर्ट बगाउँदा यातायात ठप्प भएको सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाले जनाएको छ।

 

प्रतिक्रिया