गृहमन्त्री लामिछानेको निलम्बन माग गरिएको रिटको पेशी आज


काठमाडौं – गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग राख्दै हालिएको रिटको पेशी मंगलबार हुँदैछ। असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा मंगलबार पेशी तोकिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा परेको रिटमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।

सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालययबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको दाबी रिटमा गरिएको छ। भट्टराईले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन्।

गत जेठ २८ गते सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीका प्रतिवादीको सूची र लामिछानेलाई विपक्षी नबनाउनुको कारण माग गरेको छ।

प्रतिक्रिया