सुदूरपश्चिममा फुटाइयो मन्त्रालय, विनाविभागिय मन्त्रीले पाए जिम्मेवारी


धनगढी – सुदूरपश्चिममा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएइएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आज (आइतबार) मन्त्रालयको विभाजन गरेर विना विभागीय ५ जना मन्त्रीहरुलाई जिम्मेवारी दिइएको हो।

यस्तै आज नै उनीहरूले पदभार ग्रहण गर्ने बताइएको छ। सुदूरपश्चिममा हाल कायम रहेका मन्त्रालयहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाइएको हो।

३ मन्त्रालय फुटाउँदा ५ जना विना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी पनि प्रदान गरिएको छ। जसमा सामाजिकबाट फुटाइएको मन्त्रालयमा नेकपा माओवादी केन्द्रकी लक्ष्मी बिक, वनमा नेकपा एमालेका वीरबहादुर थापा (पातल), वनबाट फुटाइएको मन्त्रालयमा एकीकृत समाजवादीकी माया पन्त र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फुटाइएको मन्त्रालयमा माओवादीकै अक्कल रावललाई जिम्मेवारी दिइएको छ।

यस्तै रिक्त आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका हिरा सार्कीलाई दिएइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ २८ गते ७ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। तीमध्ये यी ५ जनाले जिम्मेवारी पाएका थिएनन्। अहिले मन्त्रालय फुटाएर उनीहरूलाई पनि जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्री सोडारीले माओवादी केन्द्र र नेकपा एमालेबाट ३–३ तथा एकीकृत समाजवादीका एक जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका थिए। एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिलामन्त्री बन्दा माओवादी केन्द्रका ओमविक्रम भाट सामाजिक विकासमन्त्री बनेका थिए। त्यस अगाडि जेठ २८ मा सात मन्त्री नियुक्त हुँदा अघि नै मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया