नेपाल समूहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित, ओलीको निर्णय अस्वीकार गर्ने


काठमाडौं – नेकपा (एमाले) माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय भेला आज (बिहीबार) १७ बुँदे निष्कर्ष सार्वजनिक गर्दै सम्पन्न भएको छ। नेकपा एमाले नेपाल समूहको दुई दिने भेला १७ बुँदे निष्कर्ष निकाल्दै सकिएको नेता विष्णु रिजालले जानकारी दिए ।

भेला सम्पन्न भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले १७ बुँदे निष्कर्ष सार्वजनिक गरेका हुन्। भेलाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीका निर्णय अस्वीकार गर्ने निर्णयसमेत गरेको छ।

‘भेलालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका विधान विपरितका सबै निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ’, रिजालले भने, ‘भेलाले १७ बुँदे निष्कर्ष निकालेको छ।’ भेलाले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले अध्यक्ष ओलीलाई आग्रह गरेको छ।

केपी ओलीबाट प्रतिनिधिसभालाई विघटन गरेर गरेको राजनीतिक अस्थिरता र पार्टी विधान विपरित भएका काम र गुटबन्दी र राष्ट्रिय हितविरुद्ध अग्रसर हुन भेलाले सबैलाई अनुरोध गरेको छ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्ष ओलीको एकलकाटे र गुटगत प्रवृत्तिका विरुद्ध भेलाले महत्वपूर्ण छलफल गरेको बताए। फागुन २८ गतेपछि भएका सम्पूर्ण निर्णय फिर्ता लिनुपर्ने बटमलाइन भेलाको निष्कर्ष रहेको भट्टराईले बताए। एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरु भएको थियो ।

 

प्रतिक्रिया