संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छ : सांसद केसी


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन् । उनले नुवाकोटको ऐतिहासिक महत्वको साततले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त समेत गरे ।

२०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म शुरु हुन नसकेकाले सरकारले नै सो काम तत्काल शुरु गर्नुपर्ने उनले दबाब दिए ।

सांसद केसीले चीन सरकारले सो दरबारको पुनर्निर्माणको काम गर्ने नगर्ने भन्नेबारे पनि सरकारले तत्काल वार्ता गर्नुपर्ने आवश्यकता औँल्याए ।

सांसद केसीले भूकम्पपछिको पुनर्निर्माणको काममा सरकार अझै गम्भीर नभएको आरोप पनि लगाए ।

प्रतिक्रिया