‘प्रचण्ड’लाई ५ वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्छ : ‘विप्लव’


काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री ‘प्रचण्ड’लाई पाँच वर्ष ढुक्कसँग सरकार चलाउन दिनुपर्ने बताएका छन् ।

बेपत्ता योद्धा परिवार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै अहिले ‘प्रचण्ड’लाई सरकार आजै जान्छ भोलि जान्छ भन्ने चिन्ताले काम गर्न नसकेको बताए ।

उनले भने, ‘हिंसा र युद्धको स्रोत भनेको पुँजीवादी सत्ता हो । हाम्रो टाउकोमा जबरजस्त थोपरिन खोजिँदैछ । हामी ०८४ को चुनावमा जान्छौँ भन्दा पनि हल्ला छ । अब हामी युद्ध चाहँदैनौँ । तर, आजको बेपत्ता र सहिद परिवारको स्थिति हेर्दा सबै कुरा बन्दुकको बलमा अशक्तलाई लादेको छ । आजको सत्तामा जनताको स्वीकार्यता छैन । कसैको पनि समर्थन छैन । यो सत्ता चल्छ भन्नेमा मान्छेलाई विश्वास छैन । यसले नेपाली जनताको स्वाधीनतालाई बोक्न सक्छ भन्ने विश्वास छैन । तर, बोल्न दिइँदैन त्यो जनमतलाई स्विकारिँदैन । नभए जनमत सङ्ग्रह गरौँ ।’

उनले आफूले पाँच वर्ष सत्ता माओवादीलाई चलाउन दिनुपर्ने सुरुदेखि नै भन्दै आएको बताए । उनले थपे, ‘मैले प्रचण्ड कमरेडलाई सुझाव दिएको थिएँ कि ५ वर्ष काँग्रेसले चलाओस् । कि त हामीलाई देओस् । अहिले पनि ‘प्रचण्ड’जीलाई ५ वर्ष स्टेटेजी बनाएर चलाउनुस् भनेर दियो भने सायद राम्रो चल्छ । उहाँलाई त अहिले कुर्सी बचाउनमै ठिक्क छ । आजै जान्छ भोलि जान्छ भन्न थालिसके । बजेट अनन्तजीले ल्याउनुभयो सबै कुरा पर्याप्त हुँदैन तर आफ्नै पार्टी पनि ठिक छैन भनेको छ अर्कोले पनि त्यही भनेको छ । मन्त्रीले पनि होइन भनेको छ यो बजेट कसको त त्यसो भए ?’

प्रतिक्रिया