बैतडीमा शिक्षिकाद्वारा हत्या गरेको स्विकार, शव खोज्न कुकुर परिचालन गर्ने तयारी


बैतडी– बैतडीमा एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी शिक्षिकाले अपराध स्विकार गरेकी छिन् । ३६ वर्षीया भागरथी विष्टले हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उनी पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभान सिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी हुन् । भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको छ ।

अब प्रहरीले शव खोज्न तालिमप्राप्त कुकुर परिचान गर्ने तयारी गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले कागजपत्रलाई बताए । अहिलेसम्म शव फेला नपरेकाले कुकुर प्रयोग गर्नेबारे छलफल भइरहेको उनले बताए ।

हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छैन ।

विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा नरहेको आफन्तले दिपक बिष्टले बताए । स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन् । हत्यापछि आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाबढी आफ्नै घरभित्र लाश लुकाएकी थिइन् ।

उनले गएराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ ।

तर, सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो ।

हत्याको कारण अझै खुलिसकेको छैन । तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ ।

स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।

यो पनि:

बैतडीमा पुरुषको हत्या आरोपमा शिक्षिका पक्राउ, भेटिएन शव
बैतडीकी शिक्षिका : जसले विरभानको हत्यापछि २४ घण्टासम्म आफ्नै घरमा लुकाइन् शव

 

प्रतिक्रिया