बैतडीकी शिक्षिका : जसले विरभानको हत्यापछि २४ घण्टासम्म आफ्नै घरमा लुकाइन् शव


बैतडी– बैतडीमा एक पुरुषको हत्या आरोपमा शिक्षिका पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ३६ वर्षीया भागरथी विष्ट छन् । उनी  पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभान सिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी हुन् ।

भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत रहेकी छन् । उनी एकल महिला समेत रहेको खुलेको छ ।

हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छैन् । तर भागरथीले प्रहरीलाई हत्या गरेको बयान दिएको उच्च प्रहरी स्रोतले जनाएको छ ।

विष्ट ट्रक ड्राइभर रहेको खुलेको छ ।

विष्ट शनिबारदेखि परिवारको सम्पर्कमा नरहेको आफन्तले दिपक बिष्टले बताए । स्थानीयका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन् । हत्यापछि आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाबढी आफ्नै घरभित्र लाश लुकाएकी थिइन् ।

उनले गएराति मात्रै शव व्यवस्थापनका लागि घरबाट निकालेको खुलेको छ ।

तर, सोमबार स्थानीयले पक्राउ परेकी भागरथीको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म घिसारेर लगिएको छाप देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले भागरथीलाई पक्राउ गरेको हो ।

स्रोतका अनुसार अटोमा हालेर शव अन्तै लगिएको थियो । शव व्यवस्थापनमा लागेकाहरुको खोजी कार्य जारी छ ।

हत्याको कारण अझै खुलिसकेको छैन ।

भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ । हत्यामा भागरथीमात्रै हुन् वा अन्य पनि छन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्या गरिएका विरभानको शव खोजीमा पनि प्रहरी जुटेको छ ।

स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् ।

प्रतिक्रिया